सहनेहरू जब बोल्छन्
आवाज एकदम चर्को हुन्छ ।
जब थुन्न खोजिन्छ आवाज
तब मुठ्ठी बुलन्द बन्छ ।
उसो त कथा पहिल्यै लेखिएको थियो
लेख्ने तिनीहरू नै थिए
जो भन्थे हामीलाई– यो त नाटक न हो ।
चोर औँला तेर्स्याएर
नाटक र नौटंकीको अट्टाहास गरिरहे उनीहरू ।
तर यसपटक रंगमन्च– सडकमै उत्रियो ।
यो केवल क्रोध थिएन ।
थियो– धैर्यताको सीमा नाघ्दै गर्दाको पीडा ।
केवल उमेरको जोश थिएन
थियो– वर्षौँको निन्द्रापछि खुलेको चेतना ।
हामी त सिर्फ कलाकार हौँ— देखाई रहन्छौँ ऐना ।
देखाई रहन्छौँ पर्दामा शासकको चरित्र ।
गुन्जाई रहन्छौँ आफ्नो गीत– चर्को, झन् चर्को ।
र प्रत्येक पटक बदलिरहन्छ शासक ।
अभिनेता विजय बरालको ‘आवाज’


